
भैरहवा — लघुवित्तको ऋण तिर्न नसक्दा घरजग्गा उठिवासमा परेको र आर्थिक संकटका कारण दुई महिलामा मानसिक तनाब भएपछि पीडित परिवारको सहयोगका लागि लघुवित्त पीडित संघर्ष समिति सक्रिय भएको छ।
रुपन्देहीको एक परिवारले स्वाभिमान लघुवित्त बाट रु १ लाख २० हजार रुपैयाँ ऋण लिएका थिए। तर समयमा तिर्न नसक्दा स्वाभिमान लघुवित्तले उनीहरूको घरजग्गा कब्जामा लिएर लालपुर्जा आफ्नो नाममा सारिदिएको थियो। यो घटनापछि आर्थिक तथा मानसिक तनावले दुई महिला विक्षिप्त भएका छन् भने परिवार बिचल्लीमा परेको छ।
घटनाको जानकारी आएपछि लघुवित्त पीडित संघर्ष समिति, लुम्बिनी प्रदेशको टोली पीडितको घरमै पुगेर अवस्था बुझेको छ। समितिका प्रदेश अध्यक्ष बद्री देवानको नेतृत्वमा गएको टोलीले भैरहवा मालपोत कार्यालयमार्फत दबाब दिँदै स्वाभिमान लघुवित्तलाई लालपुर्जा फुकुवा गर्न बाध्य बनाएको हो।
अध्यक्ष देवानले भने, ‘लघुवित्त र सहकारीका कारण धेरै परिवारको ज्यान र सम्मान जोखिममा परेको छ। यस्तो अन्याय अब सह्य हुने छैन। पीडित परिवारलाई कानुनी तथा मानवीय सहयोग गरिन्छ।’
समितिले अन्य पीडितहरूलाई पनि संगठित भएर आफ्ना अधिकारका लागि आवाज उठाउन अपिल गरेको छ।


