Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

जेनजी आन्दोलन देशीविदेशी शक्तिले हाइज्याक गरे : कमल थापा

Spread the love

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन-जी पुस्ताको आन्दोलनलाई देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको गम्भीर आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले युवाहरूले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन नगरेको भए पनि देशी–विदेशी शक्तिले हस्तक्षेप गरी आन्दोलनलाई विषयान्तर गरेको आरोप लगाएका हुन्।

थापाले युवाहरूले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरेको भए पनि वर्तमान व्यवस्थामा रहेर भ्रष्टाचार र कुशासनको अन्त्य गर्न असम्भव रहेको बताए। उनले प्रश्न गरे, ‘के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ त ?’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमा ‘व्यवस्था जोगाएँ’ भनेर दिएको अभिव्यक्तिले नै युवा आन्दोलन हाइज्याक भएको प्रमाणित गरेको टिप्पणी गरे।

थापाको जिकिर छ, ‘जेन-जी युवाहरू यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन्।’ उनीहरूको आन्दोलनलाई देशी र विदेशी शक्तिहरूको सहयोगमा हाइज्याक गर्ने काम गरियो र संवैधानिक अङ्गहरूलाई यथास्थितिमा राखेर आन्दोलनलाई दबाउने प्रयास भयो।

थापाले अहिलेकै संवैधानिक व्यवस्था, शासकीय प्रणाली र निर्वाचन प्रणाली मार्फत अघि बढे जेन-जी आन्दोलनको कुनै अर्थ नरहने बताए। भ्रष्टाचारको मूल जडको रूपमा रहेको संविधान र व्यवस्थालाई यथावत् राखेर जनतालाई धोका दिने षड्यन्त्र भएको उनको टिप्पणी छ।

उनले भने, ‘अहिलेकै राज्य संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र संवैधानिक आयोग राखेर गर्ने भनिएको चुनावको कुनै अर्थ छैन। यति धेरैले शहादत र ठूलो धनको क्षति भएर जुन ढोका खुलेको थियो, त्यसलाई बन्द गर्नेहरू जनताको कठघरामा उभिनुपर्नेछ।’

थापाका अनुसार यही व्यवस्थामा निर्वाचन गरिए आन्दोलन अधुरो ठहरिनेछ र त्यहीँबाट फेरि सुरु हुनेछ। यही निर्वाचन प्रणालीबाट चुनाव हुँदा पुरानै पार्टी र केही नयाँ आए पनि कसैले पनि सरकार बनाउने गरी बहुमत बनाउन सक्दैनन्। फलस्वरूप, ‘ती लुटेरा पार्टीहरू र नौटंकीहरूले अप्राकृतिक गठबन्धन बनाएर अराजकता गर्नेबाहेक केही हुनसक्दैन।’

थापाले संवैधानिक अङ्गमा भइरहेको राजनीतिक नियुक्ति भ्रष्टाचारको मुख्य कारण भएको उल्लेख गरे। उनले भने, ‘यो व्यवस्थालाई यथावत् कायम राख्ने हो भने भोलि निर्वाचित भएर आउने पार्टीले आफ्नो कार्यकर्तालाई नियुक्ति गर्दैन भन्ने ग्यारेन्टी कसले लिन्छ ?’

उनले बालेनले पार्टी खोले पनि अन्ततः काँग्रेस र एमालेसँगै गठबन्धन गर्नुपर्ने अवस्था आउने भन्दै त्यस्तो पार्टीको कुनै काम नहुने बताए। थापाले युवाहरूको आन्दोलन हाइज्याक भएको र यथास्थितिलाई कायम राखेर निर्वाचन भएको खण्डमा देशमा थप खराब स्थिति आउन सक्ने चेतावनी दिए।

अन्त्यमा, उनले मुलुकलाई निकास दिनका लागि सबै प्रजातन्त्रवादी र राजावादीहरू एकजुट हुन पनि आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top