
आदर्श यादव
विराटनगर – नेपाल –भारत सीमा क्षेत्रमा पर्ने नो मेन्स लेन्ड जोग्बनीमा डा. कुल्दिप झाको ७५औँ सहादत दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ। शहीद डा. कुल्दिप झाको स्मरण तथा सम्मानस्वरूप आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारत दुवै देशका राजनीतिक, सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि भारतको अररिया निर्वाचन क्षेत्रका सांसद प्रदीप सिंह रहेका थिए। समारोहलाई सम्बोधन गर्दै उनले डा. कुल्दिप झाले समाज र राष्ट्रका लागि दिएको योगदान सदैव स्मरणीय रहने बताए। उनले शहीदहरूको बलिदानका कारण नै आजको समाज स्वतन्त्रता, समानता र न्यायको मार्गमा अघि बढिरहेको उल्लेख गरे।

कार्यक्रमको अध्यक्षता नरपतगञ्जकी विधायक देवन्ती यादवले गरेकी थिइन्। अध्यक्षीय मन्तव्यमा उनले डा. कुल्दिप झाको सहादतले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनतालाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।

नगर अध्यक्ष रानी देवीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै शहीदको आदर्शलाई व्यवहारमा उतार्न सबैले प्रतिवद्ध हुनुपर्नेमा जोड दिइन्।
विशिष्ट अतिथिका रूपमा उपस्थित बिहार प्रदेशका वरिष्ठ भाजपा नेता तथा डा. कुल्दिप झाका भतिजा नवीन झाले डा. कुल्दिप झाको जीवन, संघर्ष र सहादतबारे प्रकाश पार्दै उहाँको विचार र योगदान नयाँ पुस्ताले आत्मसात गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश संगठन विभागका सदस्यले पनि सहभागिता जनाउँदै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागी वक्ताहरूले डा. कुल्दिप झाको सहादतले सीमावर्ती क्षेत्रमा सामाजिक न्याय, लोकतन्त्र र आपसी सद्भावको सन्देश दिएको बताएका थिए।
समारोहको अन्त्यमा शहीद डा. कुल्दिप झाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सपना र आदर्शलाई निरन्तर अघि बढाउने संकल्प व्यक्त गरिएको थियो।

