
काठमाडौँ – लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
काठमाडौं। लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपालले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै साउन १२ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन तथा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतको असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, लघुवित्त पीडितका समस्याको समाधान गर्न तथा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन गर्न माग गरेको छ।
समितिले वास्तविक पीडितको कर्जा मिनाहा, सामूहिक कर्जा प्रणालीको अन्त्य, गरिब, मजदुर, किसानलाई ब्याजरहित ऋण, वित्तीय प्रणालीमा सुधार तथा धितो लिलाम र कालोसूचीको प्रक्रिया रोक्नुपर्ने लगायतका माग अघि सारेको छ।
यसका साथै समितिले सम्पूर्ण लघुवित्त तथा वित्तीय पीडित, नागरिक समाज, राजनीतिक दल, पत्रकार र सरोकारवालालाई साउन १२ देखि सुरु हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।


