
धादिङ। थाक्रे गाउँपालिका–७ का वडा अध्यक्ष युवराज खतिवडाले साविक तसर्पु र भुमेस्थान गाविस क्षेत्रमा कच्ची सडक उपभोग गरेबापत उठाइँदै आएको शुल्क कानुनी, पारदर्शी र न्यायोचित हुनुपर्ने बताएका छन्।
उनले सार्वजनिक धारणा व्यक्त गर्दै तसर्पु–आग्राखोला ग्रामीण सडक मात्र प्रयोग गर्ने, महादेवबेसी झुलुङ्गे पुल–भुमेस्थान ग्रामीण सडक मात्र प्रयोग गर्ने तथा दुवै सडक प्रयोग गर्ने सवारीका लागि छुट्टाछुट्टै शुल्क दर निर्धारण गरिएको बुझाइ रहेको उल्लेख गरेका छन्। सोही आधारमा सम्बन्धित सडक प्रयोग गर्ने सवारीबाट मात्र शुल्क उठाउन सम्बन्धित क्षेत्रमा छुट्टाछुट्टै कर सङ्कलन केन्द्र स्थापना गरिनुपर्ने उनको भनाइ छ।
एउटा सडक मात्र प्रयोग गर्ने सवारीबाट पनि पूर्ण शुल्क असुल गरिए त्यसलाई कानुनी र न्यायोचित मान्न नसकिने खतिवडाले बताएका छन्। यस्तो व्यवस्थाले सवारीधनी दोहोरो शुल्कको मारमा पर्न सक्ने भन्दै कुनै व्यक्ति वा समूहलाई फाइदा पुग्ने गरी व्यवस्था गरिएको भए तत्काल सच्याउनुपर्ने उनको माग छ।
उनले करिब दुई वर्षअघि गृह मन्त्रालयले यस्ता प्रकृतिका कच्ची सडक उपभोग शुल्कसम्बन्धी ठेक्का नगर्न तथा कर नउठाउन स्थानीय तहलाई परिपत्र गरेको भन्ने विषय सार्वजनिक रूपमा उठिरहेको उल्लेख गर्दै, यदि त्यस्तो परिपत्र विद्यमान छ भने त्यसको पालना हुनुपर्ने बताएका छन्। कानुनविपरीत ठेक्का भएको पुष्टि भए तत्काल खारेज गरी आवश्यक निर्णय लिन सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन्।
खतिवडाले थाक्रे तथा आसपासका पालिकाका अधिकांश युवाहरू टिप्पर व्यवसायमा आबद्ध रहेको उल्लेख गर्दै यस्ता निर्णयले स्वरोजगार चालक तथा साना व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताए। उनले कानुनी उपचार तथा स्पष्ट समाधानका लागि चालक, व्यवसायी र सम्बन्धित सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
“कानुनको शासन सबैका लागि समान हुनुपर्छ। राजस्व संकलन पनि कानुनी आधार, पारदर्शिता र न्यायका सिद्धान्तअनुसार मात्रै हुनुपर्छ,” वडा अध्यक्ष खतिवडाको भनाइ छ।
