
काठमाडौं — बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि लायन्स क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
लायन्सकर्मीहरूको पहलमा संकलित उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आह्वान गरेको छ।
समाजसेवी दयाराम कार्कीले सामाजिक सञ्जालमार्फत सहयोग गर्ने सम्पूर्ण लायन्सकर्मीलाई धन्यवाद दिँदै संकलित रकम विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा उपयोग हुने विश्वास व्यक्त गरेका छन्।
“संकटको समयमा सबै मिलेर पीडितको साथमा उभिनुपर्छ” भन्ने सन्देशसहित लायन्स क्लबले गरेको यो सहयोगलाई सामाजिक क्षेत्रमा उदाहरणीय योगदानका रूपमा हेरिएको छ।
