
नुवाकोट – बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला समाजसेवी दयाराम कार्की भने पाँचौँ दिनसम्म पनि प्रभावित नागरिकको उद्धार र राहतमा निरन्तर फिल्डमै खटिएका छन्।
विपद्को सुरुवाती दिनदेखि नै प्रभावित क्षेत्र पुगिरहेका कार्की नेपाली सेना, नेपाल प्रहरी र युवाहरूसँगै उद्धार तथा राहत अभियानमा सक्रिय छन्। कठिन परिस्थितिका बीच पीडित नागरिकको अवस्था बुझ्ने, आवश्यक राहत पुर्याउने र उद्धार कार्यमा सहजीकरण गर्ने काममा उनी निरन्तर जुटिरहेका छन्।

तर यसपटक कार्कीले आफूले गरेको सेवा तथा उद्धारका फोटो–भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने निर्णय गरेका थिए।
उनको यही निर्णयबीच एक जना युवाले उनलाई प्रश्न गरे— ‘दाइ, यसपालि राहत दिनुभएन? तपाईं त दिनदुःखीलाई धेरै सहयोग गर्ने मान्छे हो नि!’
कार्कीले हाँस्दै जवाफ दिए, ‘भाइ, आज पाँचौँ दिन पनि म राहत र उद्धारमै छु। आर्मी, प्रहरी र युवाहरूसँगै सेवामा खटिरहेको छु।’

कार्कीका अनुसार विपद्को समयमा सामाजिक सञ्जालमा आफ्नो काम देखाउनुभन्दा वास्तविक रूपमा पीडित नागरिकसम्म पुगेर सहयोग गर्नु महत्वपूर्ण हो।
‘सेवा प्रचारका लागि होइन, आवश्यक परेको ठाउँमा पुगेर सहयोग गर्नका लागि हो,’ उनी भन्छन्।
यद्यपि, आफू निरन्तर राहत तथा उद्धारमा सक्रिय रहेको जानकारी दिन उनले अभियानको पहिलो दिन बेलकोटगढी नगरपालिका–७ मा गरिएको राहत वितरणको भिडियो सार्वजनिक गरेका छन्।
बाढीपहिरोले धेरै परिवारलाई संकटमा पारेको अवस्थामा व्यक्तिगत रूपमा मात्र नभई सेना, प्रहरी, युवा तथा विभिन्न सामाजिक समूहहरूको सहकार्यमा भइरहेको राहत र उद्धार अभियानले प्रभावित नागरिकलाई ठूलो सहयोग पुगेको छ।
कार्कीको पाँचौँ दिनसम्मको निरन्तर सक्रियताले एउटा सन्देश भने स्पष्ट पार्छ— विपद्को समयमा प्रचारभन्दा महत्वपूर्ण पीडितको छेउमा पुगेर गरिने सेवा हो।
