
नुवाकोट — समाजसेवी दयाराम कार्कीको नेतृत्वमा सञ्चालन भइरहेको राहत तथा उद्धार अभियान सातौँ दिनमा प्रवेश गरेको छ।
नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत विभिन्न वडामा राहत सामग्रीको अवस्थाबारे जानकारी लिँदा त्रिशूली वारिपट्टिका अधिकांश वडामा खाद्यान्नलगायतका राहत सामग्री पर्याप्त रूपमा पुगेको पाइएको छ। तर त्रिशूली पारिपट्टिका तीन वटा वडाका बाढीपीडित नागरिकले भने अझै पर्याप्त राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।

उक्त अवस्थालाई गम्भीरतापूर्वक लिएर समाज कल्याण विभागका प्रतिनिधि, लायन्सका प्रतिनिधि तथा राहत टोली नुवाकोट जिल्ला समन्वय समितिमा पुगेर समन्वय प्रमुखसँग विस्तृत छलफल गरेको छ। छलफलपछि वास्तविक आवश्यकता पहिचान गरी राहत व्यवस्थापन तथा वितरणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालिएको छ।
विदुर नगरपालिका लगायत आसपासका पालिकाका त्रिशूली वारिपट्टिका क्षेत्रमा लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री, औषधि तथा महिलाका लागि सेनिटरी प्याड लगायतका सामग्रीको आवश्यकता रहेको जनाइएको छ। त्यस्तै, त्रिशूली पारिपट्टिका बाढीपीडितका लागि खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री अझै आवश्यक रहेको टोलीले जनाएको छ।

समाजसेवी कार्कीले अब राहत सामग्री लिएर जाने विभिन्न संघ–संस्था, समाजसेवी तथा सहयोगी हातहरूलाई रसुवा जिल्लालाई विशेष प्राथमिकता दिन आग्रह गरेका छन्। विशेषगरी खाना पकाउने भाँडाकुँडा, लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री, औषधि र सेनिटरी प्याड लगायतका सामग्री सहयोग गर्न उनले अनुरोध गरेका छन्।
उनले विपद्को समयमा राहत वास्तविक पीडितसम्म पुर्याउन सम्बन्धित निकाय, स्थानीय तह, संघ–संस्था तथा सहयोगी हातहरूसँग निरन्तर समन्वय भइरहेको बताउँदै भने, “विपद्को समयमा हाम्रो सानो सहयोग पनि कसैको ठूलो सहारा बन्न सक्छ।”
