
काठमाडौ – २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, लेन्दे, टिमुरे, स्याफ्रुबेँसी, त्रिशूली, नारायणी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा फोहोर तथा गेग्रान थुप्रिनुका साथै दुर्गन्ध फैलिन थालेपछि सरसफाइ तथा राहत कार्यको आवश्यकता बढेको छ।
यस विपद्को अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता महसुस गर्दै लायन्स डिस्ट्रिक्ट ३२५ नेपालले राहत तथा उद्धार कार्यमा सहयोग गरेको हो।
भदौ १६ गते त्रिशूली हुँदै देवघाटको प्रभावित क्षेत्रमा लायन्सका पदाधिकारीहरू स्वयं प्रत्यक्ष फिल्डमै पुगेर उद्धार तथा सरसफाइमा खटिएका बागमती प्रदेश स्काउट कोअर्डिनेटर विदुर गिरी तथा स्काउटका अन्य पदाधिकारी एवं स्वयंसेवकहरूलाई आवश्यक राहत तथा उद्धार सामग्री प्रदान गरिएको थियो। प्रभावित क्षेत्रमा फैलिएको फोहोर तथा दुर्गन्ध नियन्त्रण र सरसफाइ कार्यलाई सहज बनाउन ५० लिटर किटाणुनाशक झोल (फिनेल), फिनेल छर्कने २ वटा भाँडा/स्प्रे उपकरण, २२ थान बेल्चा, २२ थान पिक तथा ११० थान टी–सर्ट प्रत्यक्ष रूपमा फिल्डमै पुगेर हस्तान्तरण गरिएको हो। विपद्को समयमा उद्धारमा खटिएका स्वयंसेवकहरूको आवश्यकता र अवस्थालाई नजिकबाट बुझ्दै उनीहरूलाई आवश्यक सामग्री आफ्नै उपस्थितिमा उपलब्ध गराइएको हो।
उक्त मानवीय सेवाकार्यमा लायन सुमित्रा के.सी., Region Chairperson, लायन सरोजकुमार थापा, Zone Chairperson तथा लायन रोहितजंग खड्का, Club Presidentको सक्रिय सहभागिता रहेको थियो।
विपद्को यस कठिन घडीमा पीडित नागरिक तथा उद्धारमा खटिएका स्काउटका स्वयंसेवकहरूको साथमा प्रत्यक्ष रूपमा उभिँदै लायन्सले मानवीय सेवाको आफ्नो अभियानलाई निरन्तरता दिएको छ। आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।
