धादिङ – राष्ट्रिय युवा संघ नेपाल, धादिङले बाढी तथा पहिरो प्रभावितका लागि राहत, सरसफाइ तथा बेपत्ता नागरिकको खोजी अभियानलाई तीव्रता दिएको छ। अभियानमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज दिलीप पौडेल र केन्द्रीय सदस्य तथा युवा संघ धादिङका इन्चार्ज सुनिल तामाङको नेतृत्व तथा पहल रहेको छ।
राष्ट्रिय युवा संघ नेपाल, धादिङका युवाहरूले करिब ७ लाख रुपैयाँ बराबरको खाद्यान्न, स्वास्थ्य सामग्री तथा दुई थान सोलार संकलन गरी रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका बाढी प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरेका छन्।
राहत टोलीले कठिन तथा जोखिमपूर्ण बाटो पार गर्दै उत्तरगया गाउँपालिकाका नीलकण्ठ माध्यमिक विद्यालय, शिवालय प्राथमिक विद्यालय र भीमसेन प्राथमिक विद्यालय तथा कालिका गाउँपालिकाको कालिका हिमालयन क्याम्पस, कालिकास्थानमा राहत सामग्री हस्तान्तरण गरेको हो।
त्यसैगरि टोलीले धादिङको गल्छि बैरेनीमा पनि विभिन्न राहत सामग्री वितरण गरेको छ।
राहत वितरणपछि राष्ट्रिय युवा संघ नेपाल, धादिङका युवाहरूले धादिङका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सरसफाइ र पुनःस्थापनाको काममा समेत सक्रिय भएका छन्। टोलीले बाढीले थुपारेको हिलो, माटो तथा फोहोर हटाउने र सार्वजनिक स्थल सफा गर्ने लगायतका काममा श्रमदान गरिरहेको छ।
यसैगरी, राष्ट्रिय युवा संघ नेपाल, धादिङका युवाहरू गल्छी क्षेत्रमा राहत वितरण तथा बाढीमा बेपत्ता नागरिकहरूको खोजी कार्यमा परिचालित भएका छन्।
विपद्को समयमा राहत वितरण, सरसफाइ, श्रमदान तथा बेपत्ता नागरिकको खोजीमार्फत प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको राष्ट्रिय युवा संघ नेपाल, धादिङले जनाएको छ।
“विपद्मा हामी सबै एक छौँ, सेवा नै हाम्रो धर्म हो” भन्ने सन्देशसहित मानवीय सेवाका अभियानलाई निरन्तरता दिने संघले जनाएको छ।
