
काठमाडौं : रेडक्रस ब्लड बैंकमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
प्रदर्शनीमार्गस्थित रेडक्रस ब्लड बैंकमा आइतबार आयोजित
कार्यक्रममा संगठनका नेता–कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। रगत अभावका कारण उपचाररत बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समस्या भइरहेको अवस्थालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संगठनले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले रक्तदान गर्दै मानवीय सेवामा योगदान गरेका थिए। रक्तदानले आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय कार्यालय सचिव सर्जन पाण्डेका अनुसार ब्लड बैंकमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो। उनले विद्यार्थी तथा युवाहरूलाई सामाजिक तथा मानवीय सेवाका अभियानमा जोडिन आग्रह गरे।
अखिल (क्रान्तिकारी)ले विद्यार्थीका शैक्षिक तथा राजनीतिक मुद्दासँगै सामाजिक सरोकारका विषयमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। संगठनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।
