
काठमाडौं : बाढी तथा विपद्बाट प्रभावित परिवारलाई राहतमा मात्र सीमित नराखी पुनःस्थापना र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले ‘समुन्नति कार्यक्रम’ अघि बढाइएको छ।
कार्यक्रमअन्तर्गत प्रारम्भिक चरणमा पहिचान भएका बाढी प्रभावित परिवार तथा व्यक्तिलाई न्यूनतम १ लाख रुपैयाँ बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइने भएको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रममार्फत सहायता रकम सम्बन्धित लाभग्राहीको बैंक खातामा सिधै जम्मा गरिने जनाइएको छ।
‘समुन्नति’ कार्यक्रम नगद सहयोगमा मात्र सीमित नभई प्रभावित नागरिकलाई जीविकोपार्जन, सीप, रोजगारी, व्यवसाय तथा उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने दीर्घकालीन उद्देश्य राखिएको छ।
विपद्का कारण प्रभावित परिवार चाडपर्वको समयमा समेत आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् र राहतपछि आफ्नो जीवन पुनः अघि बढाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइएको छ।
कार्यक्रमले विपद्पछिको तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनःस्थापनादेखि आत्मनिर्भरतासम्मको यात्रालाई सहयोग गर्ने लक्ष्य लिएको छ।
