
रुपन्देही- रुपन्देही क्षेत्र नम्बर १ मा आम जनता पार्टीका तर्फबाट मोबाइल चिन्ह लिएर उम्मेदवारी दिएका बदरुदोजा देवान (बर्दी) ले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।

देवान पछिल्ला दिनमा गाउँ–टोल केन्द्रित भेटघाट, अन्तरक्रिया तथा मतदाता संवाद कार्यक्रममार्फत सक्रिय रूपमा प्रचार–प्रसारमा जुटेका छन्। उनले लघुवित्त, सहकारी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्यालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।

चर्को ब्याजदर नियन्त्रण, सहकारी क्षेत्रमा देखिएको अनियमितता अन्त्य तथा वित्तीय क्षेत्रमा पारदर्शिता कायम गर्न नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ।
“ऋणमुक्त जनता, ऋणमुक्त देश” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका देवानले आर्थिक न्याय, सुशासन र राजनीतिक जवाफदेहितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

शिक्षा, स्वास्थ्य, रोजगारी तथा समावेशी विकासलाई समेत उनले आफ्नो कार्यक्रमको केन्द्रमा राखेका छन्।
रुपन्देही–१ मा उनको घरदैलो कार्यक्रम दिनप्रतिदिन विस्तार हुँदै गएको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनका समर्थकहरूले बताएका छन्।


