काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंको लागि आज आइतबारदेखि सुकिला नोट वितरण गर्ने भएको छ । हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले गत वर्षदेखि सुकिला नोट मात्र दिने भएको हो ।
आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्।
अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।
साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

