चाँदनीचोकमा आयोजित स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

Spread the love

बौद्ध–६, चुच्चेपाटीस्थित चाँदनीचोक डुङ्गेधारा संरक्षण समितिको आयोजनामा १८ औँ गणतन्त्र दिवसको अवसरमा विशेष स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
समितिका अध्यक्ष श्रवण बस्नेतका अनुसार स्तुपा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट १७१ जनाले विभिन्न स्वास्थ्य सेवाको लाभ लिएका छन्। शिविरमा सुगर, प्रेसर, थाइराइड, आँखा, दाँत, नाक, कान, घाँटी, बालरोग तथा सामान्य स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।
त्यसैगरी आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरी मानवीय सेवामा योगदान दिएका छन्। अध्यक्ष बस्नेतले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक रक्त आपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।


कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, रक्तदाता, स्वयंसेवक तथा सहभागी सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष बस्नेतले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताए।
“स्वच्छ नेपाल, स्वस्थ नेपाली” भन्ने नारासहित सम्पन्न कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top