
जेन्जी आन्दोलनपछि दलित जे नजी एलायन्स गठन भयो। आन्दोलनका क्रममा देशका विभिन्न ठाउँबाट आएका युवा–युवतीहरूसँग भेटघाट र चिनजान गर्ने अवसर मिल्यो। त्यही क्रममा मेरो पनि शिक्षा सुनारसँग परिचय भएको थियो। उनी सरल, मिलनसार, हँसिली र सपनाले भरिएकी युवती थिइन्।
समय बित्दै गयो। महिलाहरूको एउटा कार्यक्रममा केही युवतीहरूको आवश्यकता परेको थियो। मैले शिक्षा, बिन्दा, साम्रागी लगायतलाई कार्यक्रममा पठाएको थिएँ। त्यही कार्यक्रमपछि उनीहरूबीच झन् आत्मीयता बढ्यो। हामी सबैबीच परिवारजस्तै सम्बन्ध बनेको थियो। कसैले कल्पना पनि गरेको थिएन कि यही सम्बन्धको कथा यति चाँडै दुःखद मोडमा पुग्नेछ।
एक दिन अचानक खबर आयो—शिक्षाको टाउको असाध्यै दुखेको छ र उनलाई अस्पताल भर्ना गरिएको छ। उनका आमाबुवाले काठमाडौंका विभिन्न अस्पतालमा पुर्याएर जाँच गराउनुभयो। तर रोग पत्ता लागेन। अन्ततः उनलाई टिचिङ अस्पताल ल्याइयो। त्यहाँ अनेकौं परीक्षण गरिए। दिन बित्दै जाँदा उनको अवस्था झन् गम्भीर बन्दै गयो। बोल्ने शक्ति पनि हराउँदै गयो।
अन्ततः रिपोर्ट आयो—उनी बोन म्यारो क्यान्सरबाट पीडित रहिछिन्।
डाक्टरहरूको भनाइ थियो, “अब बाँच्ने सम्भावना निकै कम छ।”
त्यो खबर सुन्नासाथ म टिचिङ अस्पताल पुगेँ। त्यहाँ बिन्दा, दिदी र साम्रागी पनि हुनुहुन्थ्यो। अस्पतालको वातावरण नै पीडाले भरिएको थियो। शिक्षालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गर्ने तयारी हुँदै थियो।
त्यही बेला सामान प्याक गर्ने क्रममा उनकी आमाले शिक्षाको झोलाभित्र एउटा किताब भेट्टाउनुभयो।
किताबको नाम थियो— “निलो प्रेम”।
आमाले किताब हातमा समाउँदै भन्नुभयो,
“आइसियुमा बस्दा पनि मेरी छोरीले यही किताब पढिरहन्थी…”
यति भन्दै उहाँको स्वर रोकियो। आँखाबाट आँसुका धारा बग्न थाले। मैले आमालाई सम्झाउने प्रयास गरेँ—
“नरुनुहोस् आमा, हामी छौं।”
तर त्यो क्षण मेरो मनभित्र एउटा गहिरो पीडाले घर बनायो।
आइसियुको बेडमा बसेर शिक्षा ‘निलो प्रेम’ पढिरहेकी थिइन्। सायद उनले त्यसका पानाहरूमा प्रेम, आशा, भविष्य र सुन्दर जीवनका रंगहरू खोजिरहेकी थिइन्। तर विडम्बना, उनको आफ्नै जीवनको किताब भने अन्तिम अध्यायतिर पुगिसकेको थियो।
उनी निलो प्रेमका पानाहरू पल्टाइरहेकी थिइन्, तर नौलो जीवन पाउने सम्भावना भने दिनप्रतिदिन टाढिँदै गइरहेको थियो।
कति निर्दयी हुन्छ समय!
कहिलेकाहीँ मानिस भविष्यका सपनाहरू पढिरहेको हुन्छ, तर नियतिले उसको वर्तमान नै खोस्न खोजिरहेको हुन्छ।
शिक्षाको त्यो किताब केवल किताब थिएन। त्यो उनका अधुरा सपना, अपूरा रहर र बाँचिरहन चाहने इच्छाको प्रतीक थियो।
अस्पतालका बेडहरू फेरिए, रिपोर्टहरू फेरिए, उपचारका विधिहरू फेरिए, तर पीडा भने घटेन।
शिक्षा बेडमा थिइन्। शरीर निकै कमजोर भइसकेको थियो। तर उनका आँखाहरूमा अझै पनि बाँच्न चाहने एउटा सानो आशा चम्किरहेको देखिन्थ्यो।
तर कहिलेकाहीँ भगवानले पनि मानिसका प्रार्थना सुन्दैनन् जस्तो लाग्छ।
एक दिन म, बिन्दा र सुष्मा केही समयका लागि अस्पतालबाट बाहिर खाजा खान गयौं। हामीले सोचेका थियौँ, फर्किएपछि फेरि शिक्षासँग बस्नेछौँ, उनलाई हौसला दिनेछौँ।
तर नियतिले अर्कै निर्णय गरिसकेको रहेछ।
हामी खाजा खाएर फर्किँदा शिक्षाको जीवन अन्तिम साससँग संघर्ष गरिरहेको रहेछ।
केही क्षणमै…
शिक्षाले अन्तिम सास फेरिन्।
त्यो दृश्य देख्नेबित्तिकै लाग्यो, संसार नै रोकियो।
मनले स्वीकार्नै सकेन।
केही समयअघि मात्रै हाँस्ने, बोल्ने, सपना देख्ने शिक्षा कसरी यति चाँडै एउटा तस्बिरमा सीमित हुन सक्छिन्?
तर सत्य यही थियो।
अब शिक्षा कहिल्यै बोल्ने थिइनन्।
कहिल्यै हाँस्ने थिइनन्।
कहिल्यै ‘निलो प्रेम’को अर्को पाना पल्टाउने थिइनन्।
भक्तपुर क्यान्सर अस्पतालदेखि पशुपति आर्यघाटसम्मको त्यो यात्रा मेरो जीवनकै सबैभन्दा पीडादायी यात्रा बन्यो।
म, बिन्दा र सुष्माले आफ्नै हातले शिक्षाको पार्थिव शरीर बोकेका थियौँ।
अस्पतालको ढोकाबाट बाहिर निकाल्दा पनि मनले विश्वास गरिरहेको थिएन। लागिरहेको थियो—सायद उनी एकछिनपछि उठेर बोल्नेछिन्, मुस्कुराउनेछिन्।
तर मृत्युले कुनै उत्तर दिएन।
आर्यघाट पुग्दा बागमती किनारमा उभिएर मैले शिक्षालाई अन्तिम पटक हेरेँ।
त्यो अनुहार अत्यन्त शान्त थियो।
तर त्यो शान्त अनुहारभित्र कति अधुरा सपना, कति अपूरा रहर र कति अधुरा भविष्यहरू गाडिएका थिए, त्यो केवल भगवानलाई थाहा होला।
चितामा आगो लगाइयो।
त्यो क्षण म आफूलाई सम्हाल्न सकिनँ।
आँखा रोइरहेको थियो।
मन चिच्याइरहेको थियो।
हेर्दाहेर्दै आगोले उनको शरीरलाई खरानी बनायो।
त्योसँगै उनका कति सपना, कति चाहना र कति सुन्दर योजनाहरू पनि खरानी बने।
आज पनि “निलो प्रेम” भन्ने शब्द सुन्दा मेरो मन भक्कानिन्छ।
आइसियुको त्यो बेड सम्झना आउँछ।
आमाको आँखाबाट झरेका ती आँसु सम्झना आउँछन्।
र शिक्षाको त्यो अन्तिम अनुहार सम्झना आउँछ।
त्यसपछि मनभित्र एउटै प्रश्न उठ्छ—
के जीवन साँच्चै यति छोटो हुन्छ कि कसैले प्रेमका पानाहरू पढ्दै गर्दा आफ्नै जीवनको अन्तिम अध्याय लेख्नुपरोस्?
शिक्षा सुनार,
तिमीले पढेको “निलो प्रेम”को कथा कहाँ पुग्यो, थाहा छैन।
तर तिम्रो संघर्ष, तिम्रो साहस, तिम्रा सपना र तिम्रो सम्झना हाम्रो मनमा सधैं जीवित रहनेछन्।
तिमी आज हामीबीच छैनौ,
तर तिम्रो अभावले छोडेको खालीपन जीवनभर भरिने छैन।
हार्दिक श्रद्धाञ्जली, शिक्षा।
तिम्रो आत्माले शान्ति पाओस्।

