
काठमाडौं । ललितपुरको इमाडोलमा एक युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि गृहमन्त्री सुदन गुरुङले गम्भीर ध्यानाकर्षण जनाउँदै आरोपी पक्राउ परिसकेको जानकारी दिएका छन्।
आइतबार साँझ इमाडोलमा हिँडिरहेकी ऋतु खनालमाथि एक पुरुषले अश्लील हर्कत गरेका थिए। पीडितले साहसका साथ आफ्नो मोबाइलबाट घटनाको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना व्यापक चर्चामा आएको थियो। सोही भिडियोका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरेको हो।
गृहमन्त्री गुरुङले फेसबुकमार्फत ऋतु खनालको साहसको प्रशंसा गर्दै लेखेका छन्, “ऋतु खनालज्यूले सार्वजनिक गर्नुभएको आफूमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ र उक्त व्यक्तिलाई पक्राउ गरिसकेको जानकारी गराउँछु। ऋतु जीको साहसप्रति हाम्रो सम्मान छ।”
उनले महिला तथा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै सबै पीडितलाई नडराई आवाज उठाउन आग्रह गरेका छन्। साथै, उजुरी दर्ता गर्न समस्या परेमा सिधै गृह मन्त्रालय वा जिल्ला प्रहरी परिसरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्।

