काठमाडौं । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको राजगढ गाउँपालिका(२ कमलपुरका ३५ वर्षीय लालु यादवको रहेका छन् ।
राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएपछि उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।
प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको डीएसपी बस्नेतले बताए । गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पुर्याइएको थियो । उनको त्यहीँ मृत्यु भएको डीएसपी बस्नेतले बताए ।
मदिरा नियन्त्रणमा लिन खोज्दा तस्करहरुले डुङ्गामुढा लगायतले आक्रमण गरेपछि नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ ।
ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहले जनाएको छ ।

