
बुटवल -भ्रष्टाचारलाई खबरदारी गर्न तथा लघुवित्त र वित्तीय शोषणविरुद्ध एकजुट आवाज निर्माण गर्ने उद्देश्यसहित आम जनता पार्टी ले लुम्बिनी प्रदेश स्तरीय संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

बुटवलमा सम्पन्न उक्त कार्यक्रमको सभा अध्यक्षता बद्री देवान ले गर्नुभएको थियो भने आम जनता पार्टीका अध्यक्ष प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवाली विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणबाट पीडित जनताको अवस्था, भ्रष्टाचारविरुद्धको संघर्ष, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले भ्रष्टाचारविरुद्धको लडाइँ शब्द र नारामा मात्र सीमित नराखी संगठन र प्रतिबद्धताका साथ निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
आम जनता पार्टीले लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितको पक्षमा दृढतापूर्वक उभिँदै जनताको अधिकारका लागि संघर्षलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

