
धादिङ — थाक्रे गाउँपालिका–६ का वडा अध्यक्षल हिराबहादुर थापा ‘राजेन्द्र’ले गाउँमा रासायनिक मलको चरम अभाव र कालोबजारीका कारण किसानहरू गम्भीर समस्यामा परेको बताएका छन्।
उनका अनुसार खेतीपातीको मुख्य समयमा किसानले सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल पाउन सकेका छैनन्। तर बजारमा भने महँगो मूल्य तिरेर मल किन्न सकिने अवस्था देखिएको छ। यसले मलको कृत्रिम अभाव र कालोबजारी भइरहेको आशंका थप बलियो बनाएको उनको भनाइ छ।
“गत वर्षको तुलनामा यस वर्ष कम मात्रामा मल किन आयो ? कसरी आयो ? किसानप्रति संघीय सरकारको धारणा के छ ? किन सबै जना चुपचाप छन् ?” भन्दै उनले प्रश्न गरेका छन्।
वडा अध्यक्ष थापाका अनुसार दैनिक १५–२० जना किसानले मलको विषयमा फोन गरेर गुनासो गर्ने गरेका छन्। “म जस्तो सानो जनप्रतिनिधिले किसानलाई के जवाफ दिने ? स्थानीय तहबाट गर्न सक्ने जति पहल र समन्वय गर्दा पनि केही लाग्दो रहेनछ,” उनले दुःख व्यक्त गरे।
उनले किसानका समस्या समयमै सम्बोधन नभए कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन्। “गरिब र किसानको समस्या किन उठान हुँदैन ? किसानको ढाड सेक्ने गरी हुने कालोबजारी र कृत्रिम अभाव अन्त्य हुनुपर्छ। किसानका समस्यामाथि राजनीति होइन, समाधान खोजिनुपर्छ,” उनले भने।
वडा अध्यक्षले मल अभावको वास्तविक अवस्था सार्वजनिक गर्न, कालोबजारी नियन्त्रण गर्न तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै किसानको समस्या समाधानका लागि सबै जनप्रतिनिधि, सरोकारवाला निकाय र नागरिक समाजलाई आ–आफ्नो ठाउँबाट आवाज उठाउनसमेत आग्रह गरेका छन्। “किसानको ढाड सेकिएर कसैको भलो हुँदैन,” उनले बताएका छन्।

