
गर्भेबहादुर मिझार
धादिङ – धादिङकाे रुवीभ्याली गाउँपालिकाले आफ्ना कार्यालय र मातहतका संस्थाहरूमा कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेद्वारा जारी पत्र अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या ११३ (मिति २०८२।०६।०८) र अर्थ मन्त्रालयको पत्र संख्या ११८ (मिति २०८२।०६।०७) का निर्देशनका आधारमा यो निर्णय कार्यान्वयनमा आएको हो ।
नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०८२।०६।०५ को बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्न नपाउने निर्णय गरेपछि, गाउँपालिकाले सो अनुसार कार्यान्वयन सुरु गरेको जनाएको छ ।
उक्त निर्णय अनुसार,गाउँकार्यपालिकाको कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत अस्थायी नियुक्ति प्राप्त र दैनिक ज्यालादारीका कर्मचारीहरूको मिति २०८२।०७।०१ देखि सेवा सम्झौता रद्द गरिएको हो ।
त्यसैगरी, पालिका अनुदान शिक्षक/शिक्षिका (सबै) र कराते प्रशिक्षक (सबै) को मिति २०८२।०८।०१ देखि लागू हुने गरी करार सेवा सम्झौता पनि रद्ध गरिएको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले उक्त सूचना प्रकाशित गर्दै सम्बन्धित आफ्ना कार्यालयका सबै कर्मचारीहरूलाई जानकारी गराएको छ ।

