
धादिङ । अत्यधिक हिमपातका कारण मनाङस्थित तिलिचो बेस क्याम्पमा ९ वर्षका एक बालकसहित नौ जना नेपाली र विदेशी पर्यटक अलपत्र परेका छन् । निरन्तर हिमपातका कारण बाटो बन्द हुँदा उनीहरू चारैतिर हिउँले घेऱिएको अवस्थामा फसेका हुन् ।
तिलिचो बेस क्याम्पमा रहेका रेशु अधिकारी र असोक बस्नेतका अनुसार, तीमध्ये १ जना ९ बर्षिय बालक सहित नौ जना नेपाली र विदेशी पर्यटक हुन् । अधिकारीका अनुसार स्वास्थ्य अवस्था असामान्य हुदै गएको र अत्यधिक चिसो, खाद्यान्नको कमी र सञ्चार सम्पर्कमा कठिनाइका कारण स्थिति जटिल बन्दै गएको जानकारी दिनुभयो ।
धादिङबाट तिलिचो भ्रमणका लागि गएका असोक बस्नेत, रेसु अधिकारी लगायतको टोलि तिलिचो बेस क्याम्पमा फसेका हुन् ।
अधिकारीले भन्नुभयो, “हामी अहिले बेस क्याम्पमै अलपत्र छौं । हिउँको मात्रा धेरै बढेकाले तल झर्न नसक्ने अवस्था छ । हिउँ पग्लिन बाँकी छ, र तापक्रम निकै तल झरेको छ । कृपया शीघ्र उद्धार गरिदिनुहोस्।”
तिलिचो क्षेत्रमा गत तीन दिनदेखि लगातार हिमपात भइरहेको छ । यसले मनाङ र आसपासका क्षेत्रमा पर्यटक आवागमन ठप्प पारेको छ । स्थानीय प्रशासन र उद्धार टोलीलाई तत्काल उद्धार कार्य अघि बढाउन आग्रह गरिएको छ ।
तिलिचो ताल विश्वकै उच्च उचाइमा रहेको प्रसिद्ध ताल हो, जहाँ हरेक वर्ष सयौं विदेशी र आन्तरिक पर्यटक भ्रमणका लागि पुग्ने गर्छन् । हालको मौसमी प्रतिकूलताले पर्यटन गतिविधि पूर्णरूपमा प्रभावित भएको मनाङका स्थानीयहरू बताउँछन् ।

