Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

च्याउ खेतीमार्फत युवालाई रोजगारी: धादिङ थाक्रेका प्रदिप तामाङको प्रेरक कथा

Spread the love

काठमाडौं– “विदेश नगई नेपालमै पनि केही गर्न सकिन्छ,” भन्ने उदाहरण बनेका छन् धादिङ जिल्लाको थाक्रे गाउँपालिका–३ का प्रदीप तामाङ। आज उनी च्याउ खेतीबाट मासिक लाखौँको कारोबार गर्दै स्थानीयलाई रोजगारी दिइरहेका छन्।


चन्द्रागिरी नगरपालिका–८, मातातीर्थमा दर्ता गरिएको एन.बी. च्याउ फर्म मार्फत तामाङले व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएका छन्। विगत सात वर्षदेखि निरन्तर च्याउ उत्पादन गरिरहेका उनले हाल मासिक करिब ३० लाख रुपैयाँ बराबरको कारोबार गरिरहेका छन्। सबै खर्च कटाएर पनि मासिक १ लाख रुपैयाँभन्दा बढी बचत हुने गरेको उनी बताउँछन्। साथै, उनले हाल ६–७ जनालाई नियमित रोजगारीसमेत दिइरहेका छन्।


गाउँ छाडेर शहर, शहरबाट परदेशसम्म :
घरको आर्थिक अवस्था कमजोर थियो। गाउँमै बसेर भविष्य देख्न नसकेपछि २०६६ सालमा उनी रोजगारीको खोजीमा काठमाडौं आइपुगे। सुरुका दिनहरू निकै कठिन थिए। कतिपय दिन त गोजिमा १ रुपैयाँ पनि नहुने  अवस्था थियो। रोजगारी खोज्दै जाने क्रममा उनी एक च्याउ फर्ममा पुगे, जहाँ काम गर्दै उनले च्याउ खेतीको सीप, बजार र सम्भावनालाई नजिकबाट बुझ्ने मौका पाए।


आफ्नै व्यवसाय गर्ने सपना पलायो, तर पूँजी थिएन। अन्ततः उनी २०६८ सालमा वैदेशिक रोजगारीका लागि कतार पुगे। सात वर्षसम्मको कठोर मेहनत, पसिना र त्यागपछि केही पूँजी जोहो गरेर २०७६ सालमा नेपाल फर्किए। धेरैले विदेश फर्किएपछि फेरि विदेश जाने बाटो रोज्छन्, तर तामाङले फरक निर्णय गरे— आफ्नै देशमा च्याउ खेती सुरु गर्ने।
च्याउबाट सम्भावनाको खेती :
आज तामाङको फार्ममा उत्पादन हुने च्याउ बजारमा सिजन अनुसार प्रतिकिलो १५० देखि २५० रुपैयाँसम्म बिक्री हुन्छ। निरन्तर उत्पादन, बजारको सुनिश्चित माग र आफ्नै अनुभवका कारण उनले च्याउ खेतीलाई स्थिर र दिगो आम्दानीको स्रोत बनाएका छन्।


उनका अनुसार च्याउ खेती थोरै लगानीमा सुरु गर्न सकिने, छिटो उत्पादन दिने र युवाका लागि अत्यन्त सम्भावनायुक्त कृषि व्यवसाय हो। यही कारण उनले अन्य युवालाई पनि तालिम दिई च्याउ खेतीतर्फ आकर्षित गर्ने योजना बनाएका छन्।
नीति र सहयोग पाए अझै धेरैलाई रोजगारी
सरकारको कृषि नीतिप्रति भने उनी पूर्ण सन्तुष्ट छैनन्। “कृषि अनुदान धेरैजसो वास्तविक किसानसम्म पुग्दैन,” उनी भन्छन्, “राज्यले अनुदान वितरण गर्दा साँच्चिकै उत्पादनमा लागेको किसान पहिचान गर्नुपर्छ।”


त्यस्तै, सरकारले उपलब्ध गराउने कृषि कर्जामा काठमाडौं बाहिरका किसानलाई बिना धितो ऋण दिने व्यवस्था भए च्याउ खेतीबाट मात्रै पनि ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ।
स्थानीय सरकारले सहयोग गरेमा आफ्नै गाउँमा व्यवस्थित र व्यावसायिक च्याउ खेती विस्तार गरी थप स्थानीय युवालाई रोजगारी दिने सपना पनि उनले बोकेका छन्। “हाम्रो गाउँमा सम्भावना छ, आवश्यक छ त केवल सही योजना, नीति र युवाप्रति विश्वास,” तामाङ भन्छन्।
कुनै समय गोजीमा १ रुपैयाँ नभई संघर्ष गरेका प्रदीप तामाङ आज आफ्नै माटोमा उद्यमको बीउ रोपेर अरूलाई रोजगारी दिइरहेका छन्। उनको यात्रा स्थानीय तह, नीति निर्माता र युवाका लागि स्पष्ट सन्देश हो—
सही सहयोग र इच्छाशक्ति भए परदेश होइन, आफ्नै देशमै सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top